मृत्युको संघारबाट फर्केका वीरेन्द्र भन्छन्- म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँर बाँचे
काठमाडाैं | असोज २३, २०८०
-कैलाली भजनीका वीरेन्द्र चौधरी
दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो ।
हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।
एक घन्टापछि (अन्दाजी ६:३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्यौँ, आँखा बन्द गर्यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।
त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो ।
त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ ।
साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।
अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् ।
मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ ।
साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्यो, आधा बाटो बसमा यात्रा गर्यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ ।
आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ ।
यो खबर नयाँ पत्रिकामा छापिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

